‘स्ववियु कप भलिबल प्रतियोगिता’को उपाधि नेविसंघ डडेल्धुरा

  • प्रकाशित मिति : September 26, 2022
  • पहिलो किरण

असोज १०, डडेल्धुरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले ‘स्ववियु कप भलिबल प्रतियोगिता’को उपाधि जितेको छ। फाइनलमा कैलालीको किशोर निर्माण सेवालाई ३–१ को सेटले पराजित गर्दै नेविसंघ डडेल्धुराले उपाधिमाथि कब्जा जमाएको हो।

पहिलो सेट नेविसंघले जितेकोमा दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै किशोर निर्माण सेवाले १–१ को बराबरीमा पुगाएको थियो। तेस्रो र चौथौ सेटमा जित निकाल्दै नेविसंघ डडेल्धुरा च्याम्पीयन बनेको हो। उपाधिसंगै नेविसंघ डडेल्धुराले एक लाख ५१ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ।



किशोर निर्माण सेवाले ७५ हजारमा चित्त बु्झाएको छ। यस्तै बैतडीको पञ्चेश्वर गाउँपालिकाको टिम तेस्रो भएको छ। नेविसंघ बीपीलाई ३–० को सोझो सेटले पराजित गर्दै पञ्चेश्वर तेस्रो भएको हो। उसले नगद ४० हजारसहित ट्रफी र मेडल प्राप्त ग¥यो। स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुरा बहुमुखी क्याम्पसको आयोजनामा ६ गतेदेखि सुरु भएको प्रतियोगिताका विजेता खेलाडीलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ।

आयोजक स्वतन्त्र विद्यार्थी युनियन, डडेल्धुरा बहुमुखी क्याम्पसका सभापति जगतबहादुर ऐरको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १० हजार र विधागततर्फ उत्कृष्ट ६ जनालाई जनही २ हजार ५ सय नगदसहित पुरस्कृत पनि गरिएको छ। महिलातर्फ पनि डडेल्धुरा बहुमुखी क्याम्पसको आन्तरिक भलिबल र कवड्डी तथा पुरुषतर्फ पनि कवड्डी प्रतियोगिता भएको थियो। प्रतियोगिता आयोजना गर्न सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरेको थियो।