बन्न सकेन डागेश्वरी खानेपानी सिँचाई बहुउद्देशीय लिफ्ट योजना

  • प्रकाशित मिति : July 4, 2024
  • पहिलो किरण

डडेल्धुरा । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि ठेक्का लगाईएको डागेश्वरी खानेपानी तथा सिँचाई बहुउद्देशीय लिफ्ट योजना बन्न सकेको छैन । राष्ट्रिय योजना आयोग र अजयमेरु गाउँपालिकाको म्याचिंग फन्डमा १४ करोड ६२ लाख रुपियाँको ठेक्का सम्भौता भएपनि योजना अलपत्र परेको छ । डडेल्धुरा र बैतडी जिल्लाको सिमाना खोला सुर्नाया गाडबाट पानी तानेर अजयमेरु गाउँपालिका वडा नं. ५,६ मा खानेपानी सिँचाई पुगाउने लक्ष्य थियो ।

सुर्नाया गाडबाट करिब एक हजार मिटर उचाईको अजयमेरु गाउँपालिका ६ डागेश्वरी मन्दिरमा पानी लिफ्ट गर्न २०७६/०७७ मा प्रतिष्ठा एमए जेभी संग ठेक्का सम्झौता भएको थियो । योजना सम्पन्न गरिसक्नु पर्ने समयमा सम्पन्न नभएपछि दुई पटक योजनाको म्याद थप गरिएको गाउँपालिकाका प्राबिधिक रतन ऐरले जानकारी दिए । मुहानमा जग्गा विवाद, निर्माण सामाग्री र बजेट अभावले योजना समयमै सम्पन्न हुन नसकेको उनको भनाई छ ।



योजनाको हालसम्म कार्य प्रगती ६३ प्रतिशत पुगेको छ । उनले भने, सिमलेस पाईप नेपालमा उत्पादन हुदैन । अन्तराष्ट्रिय बजारबाट खरिद गर्नु पर्ने भएकाले केही ढिलाई भएको हो । मुख्य लाईनमा सिमलेस पाईप लगाउनु पर्ने भएकाले खरिदमा एक वर्ष ढिलाई भयो । हाल दुई हजार ५०० मिटर मुख्य लाईन निर्माण गरिसकेको उनले बताए ।
मुख्य पाईप लाईनको लम्बाई चार हजार दुई सय मिटरको हुने छ ।

हालसम्म एउटा चार लाख लिटर पानी अटाउने क्षमताको टंकी, मुहानमा गार्ड हाउस, स्लोसेन्ड फिल्टर, रफिंग फिल्टर, प्लेन सेटोन्टेसन, थ्री फेज बिद्युत लाईन र तीन वटा ५० घनमिटरका टंकीहरु निर्माण गरिएको उनले बताए । नयाँ आर्थिक वर्ष २०८१÷०८२ का लागि दुई करोड ६६ लाख रुपियाँ सुनिश्चित भएकाले एक वर्ष भित्र योजना सम्पन्न गरिसक्नु पर्ने बाध्यता रहेको उनले बताए ।

अहिलेसम्म काम गरेको रकमसमेत नपाएको वडा नं. ६ का वडा अध्यक्ष हरी भण्डारीले बताए । उनी वडा अध्यक्षमा निर्वाचित हुनु अघि यसै योजनाको ठेक्काको काम गरिरहेका थिए । आफुले काम गरेको करिब दुई करोड बढी रकम भुक्तानी नपाएको उनको भनाई छ ।

वडा नं. ५ र ६ को ३९१६ जनसंख्या लाभान्वित हुने गरि खानेपानी र हजारौ रोपनी जमिनमा सिँचाई पुगाउने गरि योजना निर्माण्को काम थालिएको थियो । योजना सुरु भएको पाँच वर्ष सम्म पनी सम्पन्न नहुदा स्थानीय निरास छन ।

योजना बन्नेमा आशावादी नरहेको स्थानीय गंगादत्त पन्तले बताए । देवलदिव्यपुर बजरामा खानेपानीको चरम अभाव हुने गरेको उनले बताए । यहाँ बजारसंगै स्वास्थ्यचौकी, विद्यालय पनि छ । उनले भने, वडा नं. ४ को पकिन्ना मुहानबाट ल्याएको पानी पर्याप्त छैन । हाल जिम गाउँमा रहेको मगाराउको धाराबाट पानी बोकेर सबैले जोहो गर्दै आईरहेका छन ।