थारो भैँसी बेच्ने चलन रोक्न सामुदायिक पशु प्रजनन् केन्द्र स्थापना (भिडियो)

  • प्रकाशित मिति : July 8, 2024
  • पहिलो किरण

डडेल्धुरा । दुग्ध जन्य पदार्थ उत्पादन एवं आत्मनिर्भर बनाउन प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न अनुदानका योजना ल्याउने गरेका छन । तर पनि डडेल्धुरा दुधमा आत्मनिर्भर हुन सकेको छैन । गत वर्ष सम्म पनि दुघ निर्यात गर्दै आईरहेको डडेल्धुराले यस वर्ष भने दुग्ध विकास संस्थान (डिडिसि)को दुग्ध जन्य पदार्थ आयात गरिरहेको छ ।

अहिले डडेल्धुरा जिल्ला सदरमुकामका डेरीमा कैलालीको अत्तरियामा रहेको दुग्ध संस्थान डिडिसिबाट दुग्ध जन्य पर्दा आयात भईरहेको छ । ६ महिना दुधको उत्पादन पर्याप्त भए पनि ६ महिना अभाव हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका कार्यालय प्रमुख देवराज भट्टले बताए ।

उनका अनुसार दुधको उत्पादन बढाउन सरकारले गाई, भैँसी, आधुनिक गोठ निर्माण, मर्मत, घाँस उत्पादन, कृतिम गर्भादान र राँगो खरिदका लागि अनुदानमा अर्बौ रुपियाँ खर्च गरिसकेको छ । तर दुधको परनिर्भता भने हट्न सकेको छैन । गत वर्षसम्म आतिलाल गाउँपालिका क्षेत्रबाट दैनिक १२ सय लिटर दुध डिडिसिले लैजाने गरेको थियो । यस वर्ष भने डिडिसिले दुध र दुग्ध जन्य पदार्थ डडेल्धुरा ल्याएर बिक्रि गरिरहेको उनले बताए ।

दुध उत्पादनका लागि २५ लाख बढी अनुदान पाएका गाई फर्महरु संचालन नहुदै बन्द भए । उनले भने, आलितालका स्थानीयहरुले हाल गाईको संख्या घटाउदै आइरहेका छन । भैँसी थारो बस्यो भने स्थानीयले बेच्ने चलन बढेको छ । यस कारण दुध उत्पादनमा कमी आएको देखिन्छ । भैँसी थारो बस्यो भने मासुका लागि तराईका जिल्लामा निर्यात बढेकाले यस वर्ष सामुदायिक प्रजनन केन्द्र स्थापना गरिएको उनले बताए ।

भौगोलिक विकटता र दक्ष प्राबिधिक जनशक्तिको अभावमा जिल्लाका सबै वस्तिहरुमा कृतिम गर्भादान सेवा पुगाउन सकिएको छैन । उनले भने, भैँसी थारो बस्ने अवस्थालाई मध्य नजर गरि अहिले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ५० प्रतिशत अनुदानमा तीन वटा सामुदायिक प्रजनन केन्द्र स्थापना गरेको छ । राँगो स्वस्थ्य राख्न सुधारिएको आधुनिक गोठ निर्माण गरि उन्नत नश्लका राँगा खरिद गरि प्रजनन केन्द्रमा राखिएको उनले बताए ।

आलिताल गाउँपालिका वडा नं. ३ को चौड, अजयमेरु गाउँपालिका वडा नं. २ र भागेश्वर गाउँपालिका वडा नं. ४, को किमौलामा गरी तीन वटा सामुदायिक प्रजनन केन्द्र स्थापना गरिएको उनले बताए । भैँसीहरु लाई राँगो उपलब्ध हुने असहज अवस्था सिर्जना भएकाले प्रजनन केन्द्र स्थापना गरिएको उनको भनाई छ ।
भैँसीलाई गर्भादान सेवा दिनका लागि सामुदायिक प्रजनन केन्द्र स्थापना गरेका छौ । उनले भन, राँगो नहुदा भैँसी थारो बस्नु पर्ने अवस्था र थारो भैँसी नपाली किसानले मासुका लागि बिक्रि गर्ने प्रचलन बढ्दै गएको छ । यसले दुध अभाव भएको छ । यो योजना कति सफल हुन्छ हेर्न बाँकी रहेको उनले बताए ।

एउटा भैँसी बाली गराउन राँगोमा ल्याउदा दुई हजार रुपियाँ लिने गरेको किमौलामा प्रजनन केन्द्र स्थापना गरेको स्थानीय चक्रसिंह ठकुराठीले बताए । किमौला पारि अजयमेरु गाउँपालिका वडा नं. ४ र ५ रहेकाले ठूलो क्षेत्रलाई ओगेट्ने गरि केन्द्र स्थापाना गरिएको उनको भनाई छ । भारतबाट मुर्रा जातको राँगो गरिद गरि केन्द्रमा पुगाएको उनले बताए । गोठ निर्माण र राँगो खरिदमा पाँच लाख ७६ हजार रुपियाँ लागत लागेको र ५० प्रतिशत रकम भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सहयोग गरेको उनले जानकारी दिए ।