बृहत खाद्यान्न उत्पादन क्षेत्र सकायलका खेतमा रोपाई गरि मनाईयो धान दिवस (भिडियो)

  • प्रकाशित मिति : June 29, 2024
  • पहिलो किरण

डडेल्धुरा । किसानका खेतमा रोपाई गरि राष्ट्रिय धान दिवस मनाईएको छ । जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि, भन्ने मुल नाराका साथ शनिबार डडेल्धुराका विभिन्न स्थानमा २१आँै राष्ट्रिय धान दिवस मनाइएको छ । बृहत खाद्यान्न उत्पादन क्षेत्र ताकिएको गन्यापधुरा गाउँपालिका ३, सकायल फाँटका खेतमा रोपाँई गरेर कृषि ज्ञान केन्द्र डडेल्धुराले धान दिवस मनाएको कार्यालय प्रमुख खेमराज पनेरुले जानकारी दिए ।

रोपाई गर्ने परम्परागत सांस्कृतिक कार्यक्रमको आयोजना गरि धान दिवस मनाईएको उनले बताए । खेतमा ढोल, झ्याली बाँजा बजाउदै देउडा र चैत गीतको भगामा पाँगो बनाउने चलन रहिआएको छ । पछिल्ला वर्षहरुमा यो सांस्कृति परम्परा हराउदै गए पछि यस वर्ष गाउँका बुढापाँकाहरु, जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिका उपाध्यक्ष, प्रहरी नायव उपरिक्षक, प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यान्वयन ईकाई, रीड कार्यालयका प्रमुखहरुको सहभागितामा सांस्कृतिक कार्यक्रमसहित धान दिवस मनाईएको उनले बताए ।

कृषि ज्ञान केन्द्रले सकायलका खेतमा रोपाई गर्न धानको मूल बिउ अनुदानमा वितरण गरेको थियो । उनले भने, यहाँका करिब अढाई सय बढी स्थानीयहरुले १२ कुन्टल धानको बेर्ना राखेका थिए । विश्वभरी नै जलवायु परिवर्तनको असर देखिदै गएकाले जलवायु मैत्री बढी वर्षा वा सुख्खा सहन सक्ने प्रबिधि युक्त बिउ रोपेर उत्पादन बढाउने उद्देश्यले यस वर्ष यहाँ धान दिवस मनाएका छौ । धानको बिउ उत्पादन गर्न ५० प्रतिशत अनुदान रकममा किसानलाई बिउ उपलब्ध गराईएको उनले बताए । उनका अनुसार अनुदानमा बिउकासाथै त्रिपाल, मिनिट्रेलर, सिडबिन किसानलाई वितरण गरिएका छन ।

डडेल्धुराको कुल खेती योग्य जमिनको ६ हजार १२० हेक्टर क्षेत्रफलमा धान रोपिन्छ । यस वर्ष अहिले सम्म पर्याप्त वर्षा नहुदा करिब ३५ प्रतिशत मात्रै रोपाई भएको उहाँले बताउनुभयो । मनसुन सक्रिय भएपनि पर्याप्त वर्षा नहुदा धान उत्पादनमा कमि आउने आंकलन गरिएको छ ।

कुल क्षेत्रफल एक लाख ५३ हजार आठ सय हेक्टर रहेको डडेल्धुरामा खेतीयोग्य जमिन ११ हजार ६१६ हेक्टर रहेको छ । खेती गरिएको जमिनको क्षेत्रफल १० हजार ६६७ रहेको छ । यसमध्ये पनि वर्षभरि सिँचाइ हुने जमिनको क्षेत्रफल तीन हजार २०२ हेक्टर रहेको । आंशिक सिञ्चित हुने जमिनको क्षेत्रफल एक हजार ८०६ हेक्टर रहेको कृषि विकास निर्देशनालय डोटीको तथ्यांक छ । गत वर्ष धान उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ३ मेट्रिकटन उत्पादन भएको थियो ।

वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तराष्ट्रिय धान वर्ष घोषणा गरिएको थियो । नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार वि.सं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।