हुन सकेन कटालमा मोती उत्पादन

  • प्रकाशित मिति : July 3, 2024
  • पहिलो किरण

डडेल्धुरा । सरकारले २० लाख बढी अनुदान रकम दिएर सुरु गरिएको मोती उत्पादन हुन सकेको छैन । परशुराम नगरपालिका ४ कटालमा घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले सम्भाव्यता अध्ययन गरि गत आर्थिक वर्ष २०८९÷०८० मा मोती उत्पादन गर्न ८० प्रतिशत रकम अनुदान दिएको थियो । श्री भगवती एकिकृत कृषि तथा पशुपंक्षी फर्मलाई २० लाख ७७ हजार रकम अनुदान दिई मोती उत्पादनका लागि पूर्वाधारहरु निर्माण गरिएको कार्यालय प्रमुख केशव भण्डारीले जानकारी दिए । तर मोती भने उत्पादन हुन सकेको छैन । पानीको अभावमा सिपी मरेका कारण मोती उत्पादन हुन नसकेको उनले बताए ।

सुदूरपश्चिममा पहिलो पटक सरकारको अनुदान रकममा मोती उत्पादन सुरु गरिएको थियो । ८० प्रतिशत रकम सरकारको र २० प्रतिशत रकम नीजि लगानीकर्ताको गरि मोती उत्पादन सुरु गरिएको थियो । मोती उत्पादन गर्न समुद्री जीव सिपी आवश्यक पर्छ ।



स्थानीय चक्र मालले मोती उत्पादनका लागी घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका संग सम्झौता गरि पोखरी निर्माण गरी सिपी हालेका थिए । तर कटालमा निर्माण भएको भूमीगत सिंचाई योजना बिग्रदा पानीको अभाव भएको र सिपी मरेको उनको भनाई छ । अध्ययन गर्दा समुद्री सतहको पानी आवश्यक पर्ने र भूमीगत सिंचाई योजना बिग्रदा पानीको अभावमा सिपी मरेको उनले बताए । सुरुमा तीन हजार ५०० सिपी ल्याएर पोखरीका राखेको थिए । उनले भने, पानीको अभावनमा सबै सिपी मरे । दोस्रो पटक पनि तीन हजार ५०० सिपी ल्याएर पोखरीमा राखेको र पानी कै आभावमा मर्न थालेको उनले बताए । भारतबाट कटाल सम्म पुगाउदा एउटा सिपीको १५० रुपियाँ खर्च आएको उनको भनाई छ ।

सरकारको अनुदान र आफ्नो व्यक्तिगत खर्च गरी पोखरी, पोखरी छोप्न टहरो निर्माण र सिपी राख्दा पहिलो पटक २७ लाख रुपियाँ खर्च आएको उनले बताए । दोस्रो पटक सिपी ल्याएर पोखरीमा राख्दा करिब ६ लाख खर्च भएको उनले बताए । तर पानीको अभावमा सिपी मर्दा क्षती व्यहोर्नुपरेको उनको गुनासो छ ।

प्रकृतिको सबैभन्दा सुन्दर सिर्जना मोती अर्थात (पर्ल) लाई मानिन्छ । मोती संसारमा एक मात्र यस्तो रत्न हो जुन जीवित प्राणीबाट उत्पादन हुन्छ । हामीले उपभोग गरिरहेको सिपी नै मोतीको मुख्य स्रोत हो । यो विशेषतः तराई तथा चुरे क्षेत्रमा उपभोग गरिन्छ । सिमसार, पोखरी, नहर, माछा पोखरी, खोला, खोल्सामा उपलब्ध हुने सिपीले त्यहाँका परिवारको छाक मात्रै टार्दैन । बजारमा बिक्री वितरण गरे आम्दानी पनि हुन्छ । यसर्थ सिपी आयआर्जनको माध्यम बनेकोे छ ।