डडेल्धुरा । जंगलमा करेन्ट लागेर दुई बाख्रा मरेका छन । बिजुलीको पोलको सपोर्ट तारमा करेन्ट आउदा अमरगढी नगरपालिका वडा नं. ८ डकले स्थित जंगलमा चर्न लागेका बाख्रा मरेका हुन । सराउलीका घाणा सामुदायिक वनमा चर्दै गरेका स्थानीय पदमसिंह गैरालका बाख्रा शनिवार दिउसो मरेका हुन ।
बिजुलीको पोलबाट लत्रेर भुई छोएको तारमा करेन्ट आउदा बाख्रा मरेको उनले बताए । आफु भने करेन्ट लाग्नबाट जोगिएको उनको भनाई छ । बाख्रासंगै आफु पनि त्यही भएको र बाख्रालाई करेन्ट लाग्दा छाता फालेर भागेको उनले बताए । शुक्रबार बिहानै देखि डडेल्धुरा लगायत सुदूरपश्चिमका सबै जिल्लाहरुमा पानी परिरहेको छ । पानी परिरहेकै बेला पोललाई सहयोग गर्ने लत्रिएको तारमा करेन्ट आउदा बाख्रा मरेको उनले बताए ।
वडा नं. ८ का वडा अध्यक्षका अनुसार डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्ग छेउको डकले बसपार्क निर्माण गरिने वनमा बाख्रा मरेका हुन । बिजुलीको पोललाई सपोर्ट गर्न खाडलमा गाडिने तार नगाडिई पोलबाट लत्रेको छ । पानी परेपछि तारमा करेन्ट प्रवाह हुदा गैरालका बाख्रा मरेको हुनसक्ने उनले बताए ।
बिद्युत प्राधिकरण वितरण शाखा डडेल्धुराका कार्याल प्रमुख रमेश अवस्थीका अनुसार ट्रान्सफर्मरको लाईनबाट करेन्ट लागेको हो । त्यहीबाट बैतडी जाने मुख्य लाईन पनि छ । उनले भने, मुख्य लाईनमा कुनै फल्ट छैन । तर ट्रान्सफर्मरबाट स्थानीयका लागि लगिएको लाईनबाट करेन्ट लागेको हुनसक्छ । प्राबिधिकको टोली नवदुर्गा गाउँपालिका गएकाले उनीहरु फर्किएर जाँचे पछि मात्रै कसरी तत्रेको तारमा करेन्ट गयो भन्ने पत्ता लाग्ने उनको भनाई छ ।
बिद्युतिय लाईनबाट क्षती भए बिद्युत प्राधिकरणले क्षती पूर्ती गर्ने व्यवस्था रहेको कार्यालय प्रमुख अवस्थीले जानकारी दिए । क्षती पूर्ती दिने नियमावली भएकाले नियमसंगत रुपमा बाख्रा धनीलाई क्षती पूर्ती दिईने उनले बताए ।