भाद्र ४, काठमाडौं । रुसले आफ्नो कब्जामा रहेको युक्रेनको परमाणु ऊर्जा केन्द्र अवलोकनका लागि स्वीकृति दिने भएको छ ।
रुस–युक्रेनबीच निरन्तर आक्रमणका घटना भइरहेका बेला जापोरिज्जिया परमाणु केन्द्रमा हुन सक्ने सम्भावित विपद्लाई लिएर चासो र चिन्ता बढिरहेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राष्ट्र सङ्घका अधिकारीलाई यो परमाणु केन्द्रको भ्रमणका लागि स्वीकृति दिने बताउनुभएको हो ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोबीच भएको वार्तापछि पुटिनले अवलोकनका लागि स्वीकृति दिने बताउनुभएको बीबीसीले जनाएको छ ।
रुसले केन्द्रबाट उत्पादित विद्युत् युक्रेनी ग्रिडबाट अलग गर्ने तयारी गरेको युक्रेनले आरोप लगाउँदै आएको छ ।
यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले केन्द्रको अवस्थालाई लिएर सार्वजनिक रुपमै चिन्ता व्यक्त गर्नुभएको थियो । साथै उहाँले विद्युत् आपूर्ति बन्द नगर्न आग्रह समेत गर्नुभएको थियो ।