डडेल्धुरा । दश वर्ष पहिले माईतबाट ल्याएको एक बाख्रा पालेकी कल्पनादेवी पातलीको खोरमा अहिले २२ वटा माउ बाख्रा छन । आलिताल गाउँपालिका १ चम्सालकी पातली एक बाख्राबाट मात्रै वर्षमा ५० हजार आम्दानी गर्न सफल भएपछि हाल बाख्रा बढाउदै आईरहेकी छन । मैले माईतबाट ल्याएको त्यो एउटा बाख्रा एक वर्षमा कहिले दुई पटक पनि ब्यायो । उनले भनिन्, अहिले पनि त्यो बाख्रो छ । ११ बेती ब्याईसकेको छ । खसी, बोका बेचेर मैले एक बाख्राबाट मात्रै वर्षमा ५० हजार बढी कमाएकी थिए । अब त २२ वटा माउ बाख्रा पुगेका छन । वर्षमा थोरै भए पनि पाँच–छ लाख रुपियाँ कमाउन सकिनेमा विश्वस्त भएको उनले सुनाईन ।
खोर बनाउन ७० हजार रुपियाँ अनुदानमा पाएपछि हाल ठूलो खोर बनाई बाख्राको संख्या बढाएको उनले बताईन । बाख्रा पालन गर्दै आएका किसानलाई भेटेरीनेरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेल्धुराले खोर बनाउन अनुदानमा सहयोग गरेपछि सहज भएको उनले बताईन । पहिले सानो खोर बनाई बाख्रा पालन गर्दै आएका किसानलाई खोरमा सहयोग गरेपछि वडा नं. १ को चम्साल, मेलखर्क, देउवागाउँका स्थानीयहरुले ठूला खोरहरु निर्माण गरेको उनको भनाई छ ।
बृहत बाख्रा पालन पकेट क्षेत्रका रुपमा विकास गर्न यस क्षेत्रका किसानलाई अनुदानमा खोर निर्माणका लागि भेटेरीनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको २० लाख रकम भएको कार्यालय प्रमुख देवराज भट्टले बताए । ५० प्रतिशत अनुदानमा खोर निर्माणका लागि यो रकम थियो । उनले भने, यस क्षेत्रका किसान पहिले देखि नै बाख्रा पालन गर्दै आईरहेका थिए । कम्तिमा दुई हजार बाख्रा पालन गर्न बृहत बाख्रा पालन पकेट क्षेत्र बनाएका छौ । यहाँका २७ परिवारहरुले काठका खोर निर्माण गरिसकेका छन । रकम भुक्तानी हुनु अगावै एक हजार १०० बाख्रा किसानका खोरमा भएको उनले जानकारी दिए । किसानहरुको समिति बनाई खोर निर्माण गर्न लगाएको उनले जानकारी दिए ।
यहाँका किसानले दुई लाख भन्दा कम खर्च नगरी खोर निर्माण गर्न नसकेको आलिताल बाख्रा पालन बहुउद्देशीय कृषक समितिका अध्यक्ष लक्ष्मण जोशीले जानकारी दिए । अधिकांस किसानले सालको काठको खम्बा बनाई खोर निर्माण गरेकाले लागत बढेको उनले बताए । कोही कसैले कंक्रिटको पिल्लर दिई खोर निर्माण गरेको उनले बताए ।
एक सय भन्दा बढी बाख्रा पालन गरेका जोशीले वर्षमा कम्तिमा पनि १० लाख रुपियाँ आम्दानी गर्दै आईरहेको बताए । चार–पाँच बाख्रा त यहाँका सबै स्थानीयहरु पाल्दै आएका थिए । उनले भने, मैले बढी पालेको देखे पछि अरुहरुले पनि पाल्ने ईच्छा देखाए । त्यसपछि सहयोग माग्न म भेटेरीनेरी अस्पताल पुगे । त्यहाबाट खोर निर्माण गर्न केही रकम पाउने भएपछि समति बनाई खोर निर्माणमा लागेको उनले बताए ।
आलिताल क्षेत्रका स्थानीयहरुले पहिले देखि नै बाख्रा पालन गर्दै आइरहेका छन । परम्परागत रुपमा बाख्रा पालन गर्दै आईरहेको किसानका बाख्रामा बेला बखत रोगको समस्या हुने गरेको छ । सरसफाई र आधुनिक खोर नहुदा रोगको संक्रमण फैलने भएकाले सरसफाईमा ध्यान दिन भेटेरीनेरी अस्पतालका कार्यालय प्रमुख भट्टले स्थानीयलाई आग्रह गरे । अब उन्नत जातका बाख्रा पालनका लागि सहयोग आवश्यक रहेको गाउँलेहरुको माग छ ।