नेपालगन्जमा १२ घण्टाका लागि कर्फ्यु हटाइयो

  • प्रकाशित मिति : October 5, 2023
  • पहिलो किरण

नेपालगन्ज। जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा मङ्गलवार दिउँसो १ बजेबाट लगाइएको कर्फ्यु बिहीबार बिहान ८ बजेबाट १२ घण्टाका लागि हटाएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहान एक सूचना प्रकाशित गरेर बिहीबार बिहान ८ बजेदेखि राती ८ बजेसम्मका कर्फ्यु हटाइएको जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालगन्जको अवस्था क्रमशः सामान्य बन्दै गएकोले सर्वसाधारणको सहजताका लागि १२ घण्टाका लागि कर्फ्यु हटाइएको जनाउँदै बिहीबार राती ८ बजेदेखि शुक्रवार बिहान ८ बजेसम्म पुनः कर्फ्यु जारी रहने बताए।



उनले कर्फ्यु हटाइएको अवधिमा शान्ति सुरक्षालाई ध्यानमा राखेर सभा, बैठक, जुलुस गर्न नपाउनुका साथै कुनै पनि प्रकारको पर्चा टेम्पलेट तथा पोस्टर समेत वितरण गर्न नपाइने र पाँच जना भन्दा बढी मानिस एक ठाउँमा जम्मा हुन नपाउने निर्णय गरिएको बताए।

जिल्ला प्रशासन कार्यालयले फेरी एक पटक स्थानीय सर्वसाधारणलाई सद्भाव र शान्ति कायम गर्न सबैले आ आफ्नो ठाउँबाट उल्लेख्य भूमिका निर्वाह गरिदिन आग्रह गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण र एक अर्कालाई सम्मान गरिदिन पनि अनुरोध गरेको छ ।

यसअघि शान्ति सुरक्षामा खलल पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि नेपालगन्जमा कर्फ्यु लगाएको थियो ।