प्राकृतिक सुन्दरता र धार्मिक केन्द्र (फोटो फिचर)

  • प्रकाशित मिति : September 3, 2023
  • पुस्कर भण्डारी 

डडेलधुरा। सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बडीमालिका मन्दिर क्षेत्र चार हजार दुई सय मिटर उचाइमा अवस्थित छ। मन्दिर पुग्दासम्म बाटोमा पर्ने विशाल फाँटहरु, आँखाले नियाल्न नसकिने आकर्षक खेत छन्।

शब्दले सुन्दरताको व्याख्या जति गरे पनि अपूर्ण नै हुने बडीमालिका फाँटहरुका दृष्य हेर्दा जो कोहीलाई पनि लोभ्याउँछन्। जति हेरे पनि आँखा थाक्दैनन्, जति रमाउँदा पनि मन अघाउदैन। जति समय खर्चिएर घुमे पनि २२ पाटन क्षेत्र घुमाइ अधुरै हुन्छ।



वारि दह, सोता दह, घोडे दह, भित्तोचिन्नेदेखि माथि वृक्षहरु छैनन्। टुन्ड्र वनस्पति, बुट्यान फूल फूलहरुले दह अर्थात पाटन र अग्ला गोलाकार डाडाहरु मनमोहक देखिन्छन।

त्रिवेणी पाटन क्षेत्रसम्म नपुग्दा हिँड्नु पर्ने ठाडो उकालो र भीरको बाटोमा लामो श्वास फेर्न मिल्ने अवस्था नै हुन्न। बाजुरा सदरमुकाम मार्तडीबाट करिब दुई दिनको पैदल यात्रापछि मात्रै त्रिवेणी पाटन क्षेत्र पुगिन्छ। करिब ३२ किलोमिटर बढी उकालो बाटोमा मेलाको समयमा भने करिब छ स्थानमा खाना, नास्ता पाउन सकिन्छ। अन्य समयमा भने आफैले खाना र खाजाको व्यवस्था पनि गर्नुपर्ने हुन्छ। छ वटै स्थानमा जस्ताको छानो बनाई काठका धर्मशाला निर्माण गरिए पनि व्यवस्थित बनाउन सकिएको छैन।

प्रकृतिको आनन्दले त्रिवेणी पाटनमा केही समय वा घण्टा दुःख बिर्सिन्छ। त्रिवेणीबाट उकालो चढ्दा, पालमुनी रात काट्दा, हेरि नसक्नु चट्टानदार ओरालोको यात्रा गर्दा फेरि कष्टले थप दुखित तुल्यान्छ।

बडीमालिकामा प्राचीन कालदेखि नै हो भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन पूजाआजासहित मेला लाग्छ। बडीमालिकाको पूजाआजा सकेर नाटेश्वरी मन्दिरमा जैनै पूर्णिमाका दिन जनै र रक्षा धारणा गरेर कालिका मातालाई बोकाको बली दिएपछि मेला सकिन्छ।

यही मितिबाट पूजा पाठ सुरु गरिएको भन्ने एकिन छैन। तर बाजुराका स्थानीय सुमेशर उपाध्यायको पालादेखि पूजापाठ हुँदै आएको आधिकारिक दस्तावेज छ। जो हालका पूजारी नेत्रराज उपाध्याय खलकको १४ पुस्ता अघिका पूर्खा हुनुहुन्छ। श्री साखे संवत १३४३ र १३४८ मा बडीमालिका मन्दिरको मत्गल्य गोत्रका ब्राह्मण बडीमालिकाका मुल पूजारी हुने भन्ने प्रमाण छ। यो मिति हेर्दा पनि बडीमालिका क्षेत्रमा परापूर्वकालदेखि नै पूजापाठ हुँदै आएको भन्ने पुष्टि हुन्छ।

बडीमालिका क्षेत्रको प्रवद्र्धन र विकास गर्न सके यहाँका स्थानीयले पूजाआजाका समाग्री मात्रै बचेर नै जीवन गुजारा गर्न सक्ने अवस्था छ। सुन्दरताले स्वर्ग जस्तै लाग्ने बडीमालिका संरचना, सुविधा र असहजताले कठिनपूर्ण यात्राको गन्तव्य बनेको छ।

भदौ १३ गते यो वर्षको पूजा लाग्यो। जनैपूर्णिमाको दिन यात्रुहरु फर्किएर घर पुगेका छन। बडीमालिका क्षेत्रको यो पटकको यात्रा मौसमका कारण निकै सहज र रमाइलो भए पनि दुई जनाले ज्यान गुमाउनु परेको छ। लेक लागेर एक जना र भीरबाट खसेर एक जना गरेर दुई जनाको मृत्यु भएको छ।

डोटी गौंडाबाट गोर्खाला र जुम्लाबाट चन्द्रनाथको पल्टन बडीमालिका आउने गरेको छ। सरकारका तर्फबाट त्यो चिनारीमा पनि पुजारी परिवारकै मातहतमा हुने गरेको छ। सुन चाँदीसहितका गहना पनि चढाइन्छ, सदियौंदेखि त्यसको कुनै हिसाब नै नराखिएको सर्वसाधारणको आरोप छ।

बडीमालिका पुग्न बाजुरा सदरमुकामको मार्तडी र नाटेश्वरी दुईतिरबाट सडक निर्माण सुरुवात गरिएको छ। त्रिवेणी नगरपालिका–९ पैमामा पुजारी बस्ने घर नजिकै होम कुण्ड निर्माण गरिएको छ। जाने बाटोसमेत सरकारकै लगानीमा बनाएको थियो। तर बडीमालिका जाने आउने बाटो भगवान भरोसाको छ।

पाँच महिना हिँउ र चार महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार जस्तै छ बडीमालिका। बडीमालिकाबाट अछाम, बझाङ्ग, डडेलधुरा र डोटी तथा कर्णाली प्रदेशका कालीकोट, मुगु लगायतका जिल्लामा यो दृश्य नियाल्न सकिन्छ।

प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडीमालिका माईको दर्शन गर्नाले मनको इच्छा पुरा हुने विश्वास छ। यस क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुईसय प्रजातीका रँगीचँगी फूलहरु, एक सय बढी जातीका बहुमुल्य जडिबुटिहरु, आश्चार्यजनक पौराणिक स्थहरु, हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक खोलाको सँगमस्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषण रहेका छन। बडीमालिकाको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन्।

बडीमालिका क्षेत्रमा हयिालीफाँटमा भेँडा र घोडा खच्चडका बथान वर्षातका चार महिनासम्म देख्न सकिन्छ। लोपन्मुख प्रजातीका वन्य जन्तु तथा पशु पंक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटिन्छन।

बडीमालिका पूजाका लागि डोटीबाट डोल, जुम्लाको चन्दनाथ मन्दिर र कालीकोटबाट सरकारी पूजा टोली बाजुरा पुगाइ सरकारी पूजा टोली बाजागाजाका साथ बडीमालिका लैजाने प्रचलन रहिआएको छ। बाजुरा सदरमुकामबाट समेत सरकारी टोली पूजाका लागि बडीमालिका पुग्ने गरेको छ।