डडेल्धुरा । यहाँ उत्पादन भएको बीउ आलुको प्रति किलो ग्रामको मूल्य ५० रुपियाँ निर्धारण गरिएको छ । हिउदे र बर्खे गरि दुई वटै सिजनको बीउ आलुको मूल्य प्रति किलोग्राम ५० रुपियाँ तोकिएको हो । खरिद गरिएको मूल्यमा लागत लाग्ने सबै खर्च र व्यावसायीलाई १५ प्रतिशत मूूनाफा जोडेर बीउ आलुको मूल्य निर्धारण गरिएको हो ।
शनिबार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन एकाई डडेल्धुराले आयोजना गरेको बीउ आलुको मूल्य निर्धारण गोष्ठिबाट मूल्य निर्धारण गरिएको हो । किसान, आलुका व्यावसायी, कृषि ज्ञान केन्द्र कार्यालय प्रमुख, उद्योग बाणिज्य संघ अध्यक्ष, स्थानीय तहका कृषि शाखा संयोजकहरुको उपस्थितीमा मूल्य निर्धारण गरिएको परियोजना कार्यान्वयन इकाई डडेल्धुरा प्रमुख ध्रुब जोशीले जानकारी दिए ।
डडेल्धुराको उग्रतारा शित भण्डारमा भण्डारण गरिएको बीउ आलुलाई बिक्रि गर्ने र बीउ अपुग भए डडेल्धुरामै उत्पादन गरि कैलालीका शित भण्डारमा भण्डारण गरिएको बीउ आलुबाट आपूर्ती गर्ने निर्णय भएकाले उनले बताए । यस वर्ष आलु व्यावसायीले ३० रुपियाँ प्रतिकेजी किसानबाट खरिद गरेकाले बीउ आलुको मूल्य गत वर्ष भन्दा कम निर्धारण गरिएको उनले बताए ।
किसानबाट ३० रुपियाँ प्रति केजी आलु खरिद गरिसके पछिको लागत शित भण्डारको भाडा, यातायात खर्च, बोरी र उतार चढाव खर्च, कुहिने घट्ने आलुको तौल, १४ प्रतिशत बैंकको ब्याज र १५ प्रतिशत मूनाफा जोडेर बीउ आलुको मूल्य निर्धारण गरिएको उनले बताए । डडेल्धुरामा करिब एक हजार तीन सय हेक्टर क्षेत्रफमा आलु खेती गरिदै आएको छ ।
९६० हेक्टर क्षेत्रफलमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्वान्वयन ईकाईको चाक्लदाबन्दीमा आलु खेती गरिएको परियोजना अधिकृत जोशीले बताए । कृषि ज्ञान केन्द्र र स्थानीय पालिका अन्तरगत ३४० हेक्टर क्षेत्रफलमा आलु खेती हुदै आएको छ । आलुको उत्पाददकत्व २२ दशमलब ७४ रहेको छ । डडेल्धुरामा प्रत्येक वर्ष पाँच हजार कुन्टल बढी आलु उत्पादन हुने गरेको छ । आलुमा जिल्ला आत्म निर्भर भएको उनको भनाई छ ।
डडेल्धुरा जिल्ला सदरमुकाममा सात हजार कुन्टल भण्डारण क्षमता भएको एउटा शित भण्डार छ । १४ हजार कुन्टल क्षमता भनिए पनि यसको आधा मात्रै भण्डारण गर्न सकिने शित भण्डार सञ्चालक समेत रहेका करन साउदले बताए ।