शिवशिखर सहकारीलाई दियो, ने.बि.संघ डडेल्धुराले १५ दिने अल्टिमेटम

  • प्रकाशित मिति : February 7, 2023
  • पहिलो किरण

माघ २४,डडेल्धुरा । नेपाल विद्यार्थी संघ डडेल्धुराले शिवशिखर सहकारीलाई जनताको लगानी सुरक्षित भएको ग्यारेन्टी गर्न १५ दिनको अल्टिमेटम दिएको छ । आज प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै संघले यस्तो अल्टिमेटम दिएको हो ।

१५ दिनभित्र विश्वस्त आधारसहित जनताको रकम सुरक्षित भएको जानकारी नदिएमा नेपाल विद्यार्थी संघ डडेल्धुराले शिवशिखर सहकारीका विरुद्ध संघर्षका कार्यक्रम तय गर्ने पनि जानकारी गराइएको छ ।



डडेल्धुराका किसान, व्यापारी र दैनिक ज्यालादारी गरी जिविकोपार्जन गरिरहेका नागरिकले आफ्नो बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै जम्मा गरेको बचत रकम डुब्ने खतरा बढेपछि नेविसंघ डडेल्धुराले ध्यानाकर्षण भएको जनाएको हो ।

‘डडेल्धुराका जनताको करिब ४० करोड रकम संकलन गरी शिवशिखर बहुउद्देश्य सहकारी संस्थाले बजारमा करिब दुई करोड मात्र लगानी गरेको जनकारी प्राप्त भएकाले शिवशिखर बहुउद्देश्य सहकारी संस्थाको बारेमा पत्रपत्रिकामा प्रकाशित समाचार साचो हो भने यसमा नेपाल विद्यार्थी संघ डडेल्धुरा सरोकारवाला निकायलाई सत्य तथ्य छानबिन गरी दोषीलाई कानूनीी दायरामा ल्याउन माग गर्दछ,’ नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा उक्त सहकारीले ठगीरहेको भान भएको पनि उल्लेख गरिएको छ । संघले सहकारीका सञ्चालकलाई समयमै सम्पर्क गरी जनताको लगानीलाई सुरक्षित गरिदिनसमेत आग्रह गरेको छ ।