मन्त्रीकाे वरियतालाई लिएर माओवादी केन्द्रमा विवाद

  • प्रकाशित मिति : December 30, 2022
  • पहिलो किरण

१५ पुस,काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको वरियतामा विवाद भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विष्णु पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रीको जिम्मेवारी दिएर पहिलो वरियतामा राखेपछि उपप्रधान तथा भौतिक मन्त्रीको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाउनुभएको छ ।

प्रधानमन्त्रीपछिको वरियतामा आफू हुनुपर्ने श्रेष्ठको भनाइ छ । अहिलेको मन्त्रिपरिषदप्रति श्रेष्ठ मात्र नभइ माओवादी केन्द्रका अन्य नेताहरु पनि असन्तुष्ट देखिएका छन् । रास्वपाबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भएपछि माओवादी नेता वर्षमान पुन असन्तुष्ट भएको नेताहरुले बताएका छन् ।

मन्त्री बन्ने निश्चित भए पनि पुनः वरियताका कारण सरकारमा नजाने पक्का भएको माओवादी नेताहरुले बताएका छन् । यता, जाजरकोटबाट प्रतिनिधिसभामा निर्वाचित शक्तिबहादुर बस्नेत भने जसरी पनि मन्त्री हुने दौडधुपमा लाग्नुभएको छ । मन्त्री हुँदा वरियता जस्तोसुकै भएपनि फरक नपर्ने बस्नेतको संकेत छ ।

माओवादीमा वरियतालाई लिएर हुन सक्ने विवादलाई मथ्थर बनाउन प्रधानमन्त्री प्रचण्डले युवा सांसदलाई मन्त्री बनाउने योजना बनाउनुभएको छ । अन्तिम अवसरको रुपमा रहेको यो कार्यकाललाई राम्रो बनाउनका लागि पनि युवालाई अवसर दिने प्रचण्डको योजना छ ।

पार्टीका अनुभवी नेताको ब्यवस्थापनका लागि प्रधानमन्त्री प्रचण्डले आफ्नो समूहमा राख्ने योजना बनाउनुभएको छ । सरकारका कामकारवाही प्रभावकारी बनाउन पनि अनुभवी नेताको सुझाव लिनुपर्ने उहाँको निष्कर्ष छ ।

माओवादीबाट मन्त्री बन्ने चर्चामा रहेकाहरुमा सुदन किराती, माधव सापकोटा, अमनलाल मोदी, रेखा शर्मा, महिन्द्र राय यादव र हितबहादुर तामाङ छन् ।