फागुन १४ मा स्ववियू निर्वाचन गर्न नेपाल विद्यार्थी संघको माग

  • प्रकाशित मिति : December 12, 2022
  • पहिलो किरण

काठमाडौं:- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले १४ फागुनभित्र स्ववियू निर्वाचन गराउन माग गरेको छ। स्ववियू चुनावका लागि आफू तयार रहेको जनाउँदै नेविसंघले आज त्रिभुवन विश्वविद्यालयका भिसी धर्माकान्त बास्कोटालाई विज्ञप्ति बुझाएर स्ववियू तयारीमा जुट्न आग्रह गरेको छ।
नेविसंघसँग भएका पटक-पटकका वार्ता कार्यान्वयन र शैक्षिक क्यालेन्डरलाई कार्यान्वयन गरी समयमै परीक्षा सञ्चालन, नतिजा प्रकाशन र परीक्षा नियन्त्रण कार्यालयका सबै कामकाज अनलाइनमार्फत गर्ने व्यवस्था मिलाउन नेविसंको अनुरोध छ।

त्रिवि नेपालको सबैभन्दा ठूलो र ऐतिहासिक विश्वविद्यालय हो। यस विश्वविद्यालय र मातहतका क्याम्पसहरूमा नियमित रुपमा स्ववियू निर्वाचन हुनुपर्छ,’ भन्ने मत नेविसंघका नेता भुवन ओझाले राखेका थिए। छलफल एवं ज्ञापनपत्र बुझाउने सन्दर्भमा उनले नेविसंघले लामो समयदेखि विभिन्न क्याम्पस र विद्यार्थीहरूको हक हितका लागि लड्दै आएको बताएका थिए।

विभिन्न कालखण्डमा निरङ्कुश शासन व्यवस्थाविरुद्ध अग्रमोर्चामा रहेर लडेको नेविसंको गर्विलो इतिहास छ। हामी सधैँ निडर भएर विद्यार्थीको हकहितका लागि आवाज बुलन्द पारिनै रहने छौं। यस पटक समयमै स्ववियू निर्वाचन हुनुपर्छ भन्ने हाम्रो माग छ,’ उनले भने।

कार्यक्रममा नेविसंघ शंकरदेव क्याम्पसका अध्यक्ष विवेक तामाङ, त्रिचन्द्रका नेता केसर बम, धर्मराज खनाल, एनपि जोशी, एनपी जोशी लाइट, डण्डिराज जोशी, एनसीसीका नेता नेता अन्सुल केसी, आरआर क्याम्पसका विद्यार्थी नेता अशोक विष्ट, अनुराग शाह, त्रिवि केन्द्रीय क्याम्पसका नेता विष्णु बडौला, सुमन प्रसाद अधिकारी, लक्ष्मी जोशी, विद्यार्थी कल्याण परिषद निर्देशक पसुपति अधिकारीलगायतको उपस्थिति रहेको थियो।