भदौं ११, काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले पार्टीले टिकट दिए डडेल्धुराबाट प्रदेशसभा निर्वाचन लड्ने बताएका छन्। डडेल्धुराबासीले उम्मेदवार बन्न आग्रह गरिरहेको बताउँदै काँग्रेस महासमिति सदस्यसमेत रहेका मन्त्री बोहराले यस्तो बताएका हुन्। ‘डडेल्धुराबाट संघीय चुनाव प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूले लड्नुहुन्छ,’ मन्त्री बोहराले भने, ‘त्यसमा चाँहि कसैको दाबी हुन सक्दैन। प्रदेशमा दुई वटा सिट छ। पार्टीले टिकट दिएको खण्डमा प्रदेश ‘ख’मा चुनाव लड्ने मेरो इच्छा छ। पार्टीले टिकट दिनेमा म विश्वस्त छु।’
सम्पूर्ण जीवन राजनीतिमा समर्पण गरेको बताउँदै मन्त्री बोहराले आफूले गरेका कामको मूल्याकंन जनताले गरिरहेको बताए। ‘म यो पार्टीमा ०३६ सालदेखि सक्रिय छु,’ मन्त्री बोहराले भने, ‘म काम गरिरहेको छु। मेरो कामको मूल्याकंन सबैले गरिरहनुभएको छ होला। म प्रजातन्त्रका लागि लडेको व्यक्ति हुँ।’ उनले आफू गठबन्धन विरोधी नभएको बताउँदै डडेल्धुरामा गठबन्धन नहुन पनि सक्ने बताए। ‘आवश्यकता महसुस भएको ठाउँमा मात्रै गठबन्धन गर्नुपर्छ,’ उनले भने, ‘डडेल्धुरामा गठबन्धन गर्दा हुने फाइदा र बेफाइदाको विश्लेषण हुन आवश्यक छ।’
उनले सामाजिक विकासमन्त्री भएको छोटो समयमै थुप्रै काम गरेको बताए। ‘सेती प्रादेशिक अस्पताल ४० वर्षपछि ५० शय्याबाट दुई सय शय्यामा स्तरोन्नति गराएको छु,’ मन्त्री बोहराले भने, ‘संघीय सरकारले थप ३ सयमा स्तरोन्नति गरेर प्रादेशिक अस्पतालमा अब ५ सय शय्याको हुँदैछ। महाकाली र टीकापुर अस्पताल एक सय र डडेल्धुराको जोगबुढा अस्पताल ५० शय्यामा स्तरोन्नतिको निर्णय गराउन सक्रिय भएर लागेको छु।’
गरिवीले उपचार गर्न नपाएर रोग पालेर बस्नुपर्ने विपन्न नागरिकको समस्या समाधानका लागि विमा कार्यक्रम पनि कार्यान्वयन भइरहेको मन्त्री बोहराको दाबी छ। उनले शिक्षा क्षेत्रमा पनि थुप्रै काम गरेको बताए। ‘९ जिल्लामा ९ वटा नमुना विद्यालय बनाउने घोषणा गरेको छु,’ मन्त्री बोहराले भने, ‘नमुना विद्यालय कार्यक्रम अब पालिकामा पनि लैजान्छु। मेरो एउटा नारा छ, सडक ६ महिनाछि बनाए हुन्छ तर शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो। यसमा पन्छिन पाइदैन।’ उनले सामाजिक विकास मन्त्रालयले हरेक वर्ष ९ जनालाई डाक्टर पढाइरहेको बताए।