साउन २३, डडेल्धुरा । सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले पश्चिम सेती जलविद्युत आयोजना निर्माण हुनेमा प्रदेशवासीलाई ढुक्क हुन आग्रह गरेका छन्। मन्त्री बोहराले पश्चिम सेतीका लागि धेरै प्रक्रिया अगाडि बढिसकेको बताउँदै निर्माण हुनेमा ढुक्क हुन आग्रह गरेका हुन्। ‘पश्चिम सेतीको कुरा धेरै अगाडि पुगिसकेको छ,‘हिजो केही भएको थिएन। आज त्यस्को सर्भे भइरहेको छ र बजेटिङ हुने कुरा पनि अगाडि बढेको बताएका छन ।
उनका अनुसार पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि जिटुजी (सरकार–सरकार) सम्झौता गर्न प्रक्रिया अगाडि बढाइएको छ। ‘पश्चिम सेतीलाई छिटोभन्दा छिटो बनाउने कुरा प्रधानमन्त्री ज्यूले नै भनिसक्नुभएको छ,’ मन्त्री बोहराले थपे, ‘जिटुजी (सरकार–सरकार) सम्झौता गरेर भारतलाई निर्माणको जिम्मा दिने तयारी छ।’
पश्चिम सेती जलविद्युत आयोजना निर्माण भए सुदूरपश्चिममा बेरोजगारी हट्ने दाबी मन्त्री बोहराको छ। ‘यो सुदूरपश्चिमका जनताको आवश्यकताको कुरा हो। यसले बेरोजगारी हट्छ,’ मन्त्री बोहराले भने। विगतमा उत्पादन भएको बिजुली कहाँ बिक्री गर्ने भन्ने समस्या रहेको बताउँदै मन्त्री बोहराले भने, ‘पश्चिम सेती बनाउने तर त्यसको बिजुली कहाँ बिक्री गर्ने भन्ने जुन समस्या थियो, त्यो समस्या समाधान भइरहेको छ। भारतले नेपालको बिजुली खरिद गर्न सुरु गरिसकेको छ।’
६ दशक अघिदेखि चर्चा हुन शुरू गरेको पश्चिम सेती जलविद्युत् आयोजनाबाट यसअघि चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिकेको थियो। प्राविधिक, पुनर्वास, पुनःस्थापना लगायत विषय देखाउँदै थ्री गर्जेजले यो परियोजना अघि बढाउन २०७५ भदौमा अनिच्छा देखाएको थियो। झण्डै तीन दशकअघि नै अस्ट्रेलियन कम्पनी स्मेकले यो परियोजना अघि बढाउन अनुमति लिएको थियो।
तर, १७ वर्षसम्म इजाजतपत्र ओगटेर बसेको कम्पनीले काम अगाडि नबढाएपछि सरकारले इजाजतपत्र रद्द गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतले यो आयोजना निर्माणको प्रस्ताव राखेको थियो। प्रधानमन्त्री देउवाकै आग्रहमा लगानी बोर्डले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न भारतीय सरकारी कम्पनीसँग वार्ता अघि बढाउने निर्णय गरेको थियो।