डडेल्धुरा सदरमुकामको सडक विस्तार हुन्छ : मन्त्री बोहरा

  • प्रकाशित मिति : August 6, 2022
  • पहिलो किरण

साउन २१, काठमाडौं  । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले डडेल्धुरा सदरमुकामको सडक विस्तारको योजना अगाडि बढ्ने बताएका छन्। सडक साँघुरो हुँदा निकै सास्ती बढेको बताउँदै मन्त्री बोहराले भने, ‘प्रधानमन्त्री ज्यूले मुआब्जा दिएर सडक फराकिलो बनाउने आफैंले भन्नुभएको छ। डडेल्धुरामा छिट्टै सडकको समस्या हल हुन्छ।’
मन्त्री बोहराले जनताको इच्छाअनुसार नै सडक फराकिलो हुने पनि दाबी गरे। ‘बजार क्षेत्रको सडक फराकिलो बनाउन आवश्यक छ,’ मन्त्री बोहराले सुदूरआवाजसंग कुराकानी गर्दै भने, ‘जनताको आकान्छाअनुसार योजना अगाडि बढ्छ। जनतालाई सहज हुने गरी काम हुन्छ। मुआब्जा दिएर सडक विस्तार गर्ने कार्यमा कुनै शंका छैन।’

यसअघि डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडकखण्ड विस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दुई पटक टेण्डर आह्वान गरेको थियो। दायाँबायाँ १५/१५ मिटर फराकिलो पार्नका लागि ४४ करोड रुपैयाँ बजेट विनियोजित गर्दै पहिलो पटक ०७७ जेठ ८ गते बोलपत्र आह्वान गरेको थियो।

मुआब्जासम्बन्धी विवादका कारण उक्त बोलपत्र भदौ ३ गते स्थगित भएको थियो। पहिलो पटक स्थगित गरिएको टेन्डर पुनः आह्वान गरिए पनि असोज तेस्रो साता फेरि प्राविधिक कारण देखाउँदै डिभिजन सडक कार्यालय कुलपाते डोटीले स्थगित गरेको थियो। सडक विस्तार गर्ने कार्यमा शृङ्खलाबद्ध रुपमा मुद्दा दर्ता गर्ने कार्य पनि भएको थियो।