साउन १७,काठमाडौँ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोबिन्दराज बोहराले डडेल्धुरा अस्पतालमा बर्न र ट्रमा सेन्टर आवश्यक रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशमा आगोले पोलेका बिरामी र दुर्घटनामा परेका बिरामीहरुको उपचार गर्ने अस्पताल नभएको भन्दै मन्त्री बोहराले डडेल्धुरा अस्पतालमा बर्न र ट्रमा सेन्टर स्थापना गर्न आवश्यक रहेको बताएका हुन् । मंगलबार डडेल्धुरा अस्पतालमा निःशुल्क शल्यक्रिया शिविरको उद्घाटन गर्दै मन्त्री बोहराले आगोले पोलेका, जलन भएका, ओठ, तालु फाटेका र दुर्घटनमा परी घाइते भएकाको उपचारका लागि बर्न र ट्रमा सेन्टर स्थापना गर्न आवयश्क रहेकोमा जोड दिए ।
‘सुदूरपश्चिम प्रदेशभरी यस्ता बिरामीको उपचार हुदैन,’ उनले भने, ‘उपचारका लागि नेपालगञ्ज, काठमाडौं वा भारत धाउनु पर्ने अवस्था छ। यसले गर्दा समयमै उपचार नपाई अकालमै ज्यान जान्छ भने उपचार सम्भव भए पनि निकै खर्चिलो हुन्छ। यस कारण डडेल्धुरामा बर्न र ट्रमा सेन्टर स्थापना गर्न आवश्यक छ।’ त्यसका लागि आफूले पहल गरिरहेको समेत उनले बताए। ‘अन्य विकास बिस्तारै गर्न सकिन्छ,’ मन्त्री बोहराले भने, ‘तर उपचार जस्तो संवेदनशिल कुरा अरु केही पनि छैन। उपचार हुन एक मिनेट पनि ढिला भए ज्यानै जोगाउन मुश्किल हुन्छ।’ उनले स्वास्थ्य उपचार पहिलो प्राथमिकतामा आफुले राख्दै आएको र यस क्षेत्रमा आफुले निरन्तर काम गर्ने बताए। सुषमा मेमोरियल अस्पताल काठमाडौंको प्राविधिक सहयोग, रुडुक डडेल्धुराको समन्वय र डडेल्धुरा अस्पतालको आयोजनामा पाँच दिने निःशुल्क शिविर सञ्चालन भएको डडेल्धुरा अस्पतालका मेसु चेतराज भट्टले बताए।
सुदूरपश्चिमका नौं वटै जिल्लाका बिरामीलाई पायक पर्ने गरी डडेल्धुरा अस्पतालमा शिविरको आयोजना गरिएको सुषमा कोइराला मेमोरियल अस्पतालका मेडिकल निर्देशक सन्तोषबिक्रम भण्डारीले बताए। शिविरमा आएका बिरामीको शल्यक्रिया गर्नुपर्ने भएमा सुषमा मेमोरियल अस्पतालमै लगेर निःशुल्क गरिने उनले जानकारी दिए। नेपालमा बर्सेनि ५५ हजारको हाराहारीमा आगोले पोलेका तथा ओठ, तालु फाटेका बिरामी अस्पताल पुग्ने तथ्यांक रहेको अस्पतालका योजना अधिकृत बीरबहादुर रावलले बताए।
आगलागीका घटनाबाट घाइते भएका करिब दुई हजार एक सय बढीले बर्सेनि ज्यान गुमाउने गरेको जानकारी दिदै उनले यसको उपचारका लागि अस्पताल र दक्षजनशक्ति नभएको औल्याए। नेपाल सरकारका ठूला तथा मेडिकल कलेजहरुमा समेत जलनका बिरामीको उपचार नहुने गरेकाले सरकारी एवं निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुले यो सेवा दिनुपर्ने उनले बताए। डडेल्धुरा अस्पतालमा कम्तिमा पनि पाँच शय्याको बर्न सेन्टर स्थापना गरी उपचार गर्नुपर्नेमा उनले जोड दिए।
२१ गतेसम्म सञ्चालन हुने निःशुल्क शिविरमा शिविरमा विभिन्न प्रकारका शारिरिक समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षणसंगै शल्यक्रिया पनि गरिने छ। शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने भएको, अंगभंग भएको, आगोले पोलेर कपाल गुमाएका बिरामीहरु, जन्मजात हातगोडाको औँलाहरु टाँसिएको, बाङ्गिएको, हात गोडामा जन्मजात पाँचभन्दा बढी औँलाहरु टाँसिएको, जन्मजात ओठ तथा तालु फाटेको बिरामीहरुको स्वास्थ्य अवस्था परीक्षण गरिने छ।
त्यस्तै मांसपेशी खुम्चिएर शरिरको कुनै भाग चलाउन नमिल्ने, विस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएको, हातगोडा काटिएको ठाउँमा पाकेर नचल्लने भएका बिरामीको पनि शिविरमा निःशुल्क उपचार हुनेछ। कान तथा नाक चिरिएको बिरामी, शरीरमा मुसा, कोठी, दाग तथा गाठाहरुको शल्यक्रिया गर्नुपर्ने तथा क्यान्सर सम्बन्धी बिरामी, हर्निया, हाइड्रोसिलका बिरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भएका बिरामीको पनि उपचार गरिने छ।