काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय सदस्य डा आरजू राणा देउवाले गेटा अस्पताल सञ्चालनबारे भइरहेको आन्दोलनले आफू अचम्मित भएको बताएकी छन् । उनले यथार्थ नबुझी भ्रममा परेर आन्दोलन भइरहेको बताइन् ।
उनले शनिबार बिहान सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै गेटामा छिट्टै ३०० शैय्याको अस्पताल सञ्चालन हुने तयारी भइरहेको बताइन् । सरकारले अस्पतालका लागि बजेट पनि विनियोजन गर्ने प्रष्ट पारिन् ।
‘मैले चुनावको दौरानमा अवगत गराएको थिए र त्यहाँको डाक्टरलाई पनि अवगत नै छ । चैत्र ४ गते त्यहाँ ३०० शय्याको अस्पताल खोल्ने निर्णय भइरहेको कुरा बाहिर आइसकेको छ’ उनले भनिन्, ‘नेपाल सरकारको नियम अनुसार तीन वर्ष अस्पताल चलाएपछि मात्रै क्याम्पस चलाउन सकिन्छ । त्यही नियम अनुसार पहिला गेटामा अस्पताल सञ्चालन चाडै हुन गइरहेको छ ।’ उनले गेटा अस्पताल सञ्चालनका लागि चाँडै समिति गठन हुने पनि बताइन् । सरकारले बजेट विनियोजन गर्ने भन्दै भ्रम सिर्जना नगर्न पनि आग्रह गरेकी छन् ।
‘निर्वाचनका कारण ढिला भएको हो । एक दुई हप्तामै समिति बन्छ । सञ्चालनको लागि यो बजेटमा बजेट आउँछ’ उनले भनिन् ‘यो बेकारको आन्दोलन गर्ने र बेकारको भ्रम सिर्जना नगर्न म अनुरोध गर्न चाहन्छु ।’ सरकारले नीति तथा कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने उल्लेख गरेपछि धनगढीमा कतिपयले विरोध जनाएका छन् ।
उनीहरुले गेटा अस्पताल सञ्चालन नगरी डडेल्धुरामा मेडिकल कलेज खोज्न लागेको भन्दै असन्तुष्टि जनाएका हुन् । भौतिक संरचना निर्माण सम्पन्न भइसकेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउनुपर्ने उनीहरुको माग छ ।
कांग्रेस केन्द्रीय सदस्य देउवाले गेटा अस्पताल सञ्चाल सरकारको प्राथमिकतामा रहेको प्रष्ट पारेकी हुन् ।