प्रेस युनियनको महाधिवेशनको तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने

  • प्रकाशित मिति : July 18, 2022
  • पहिलो किरण

काठमाडौँ।नेपाल प्रेस युनियनको यही साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने नवौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशन कार्यक्रमलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको स्थानीय समन्वय समितिका सहसंयोजक गिरिजाप्रसाद अधिकारीले जानकारी दिनुभयो उहाँले युनियनको महाधिवेशनका लागि आवास, भोजन, अधिवेशनस्थल व्यवस्थापनलगायतका तयारी पूरा भइसकेको र स्वागत गेट निर्माण, निमन्त्रणा कार्ड, ब्यानर बनाउनेलगायतका कार्य पनि तीव्रताका साथ भइरहेको जानकारी दिनुभयो ।

आवासका लागि हेटौँडा, मकवानपुरगढी, अम्लेखगञ्ज र सौराहाका होटल बुकिङ गरिएको तथा महाधिवेशनस्थल नजिकै भोजनको व्यवस्थापन मिलाइएको उहाँले जानकारी दिनुभयो । महाधिवेशनमा देशभरका करिब एक हजार ६०० प्रेस युनियनका प्रतिनिधि र अतिथिको सहभागिता रहने उहाँले बताउनुभयो ।

साउन ६ गते उद्घाटन हुने महाधिवेशनले युनियनको नयाँ कार्यसमितिसमेत निर्वाचित गर्ने जनाइएको छ । महाधिवेशन सम्पन्न गर्नका लागि युनियनले केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको थियो । त्यसको सहसंयोजकमा केन्द्रीय सदस्य अधिकारी रहनुभएको छ ।आवास व्यवस्थापन समिति संयोजकको जिम्मेवारीमा रुपेश दुलाल, भोजन व्यवस्थापनमा सुजन विडारी, पोष्टराज अधिकारीको संयोजकत्वमा सचिवालय व्यवस्थापन र प्रचारप्रसार केशव समपर्णको नेतृत्वमा भइरहेको जनाइएको छ ।

महाधिवेशन सम्पन्न गर्नका लागि युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । स्वागत सत्कार समिति संयोजकमा उपाध्यक्ष ईश्वरी ओझा, विधान मस्यौदा संशोधन समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य रहनुभएको छ भने कार्यवाहक महासचिव भीष्मराज ओझाले प्रतिनिधि व्यवस्थापनको काम गरिरहनुभएको छ । कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति र तेज रावलको अध्यक्षमा निर्वाचन समिति गठन गरी तीव्रताका साथ महाधिवेशन लक्षित कार्य भइरहेको कार्यवाहक महासचिव ओझाले बताउनुभयो ।