असार २७,काठमाडौं। प्रधानमन्त्री देउवा र चिनियाँ नेता लिउद्वारा दुई मुलुकबीच भएको सम्झौतालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुदृढ नभएकाले नेपालले चीनबाट ऋण नभई अनुदान मात्र स्वीकार गर्न चाहेको बताएका छन् ।आइतबार बेलुका बालुवाटारमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओसँगको संवादका क्रममा प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन्।
‘नेपालको अर्थतन्त्र अहिले सुदृढ अवस्थामा छैन। अहिले ऋण दिने अवस्थामा हामी छैनौं। नेपाललाई अनुदान चाहिएको छ,’ उक्त संवादमा सहभागी कुटनीतिज्ञ दिनेश भट्टराईले प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै भने।प्रधानमन्त्री देउवाले चिनियाँ पक्षसँग यसअघि पनि नेपालले ऋणभन्दा पनि सहुलियत ऋण र अनुदानमात्र स्वीकार गर्न सक्ने बताएका थिए। चैतको दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा देउवाले चिनियाँ पक्षलाई उक्त सन्देश दिएका हुन्।दक्षिण एसियाको अर्को मुलुक श्रीलंका ऋणकै कारण आर्थिक संकटमा परेपछि नेपालमा पनि चर्को ब्याजदरमा ऋण लिन हुन्न भन्ने बहस सुरु भएको छ। चीनले श्रीलंकामा हम्बनटोटा बन्दरगाह निर्माणका लागि ऋण दिएको थियो। तर श्रीलंकाले चीनलाई ऋण तिर्न नसकेपछि उक्त बन्दरगाह ९९ वर्षका लागि आफ्नो अधीनमा लिइसकेको छ।
नेपालले थप ऋण लिँदा अर्थतन्त्रमा समस्या हुने भएकाले अनुदानमात्र चाहन्छौं भन्ने कुरा प्रधानमन्त्री देउवाले राखेको भट्टराईको भनाइ थियो। चीनले नेपाललाई बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मार्फत सहयोग गर्न चाहेको छ। नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरेको थियो। त्यसयता नेपालमा बीआरआईमार्फत कुनै पनि योजना अघि बढ्न सकेको छैन। नेपालले सुरुआतमा ३५ आयोजनाको सूची चीनलाई पठाएको र त्यसलाई पछि एक अंकमा झार्नका लागि चीनबाट सुझाव आएपछि ९ परियोजनामा सीमित गरिएको थियो। तर त्यस विषयमा अहिले नेपाल सरकारका कुनै पनि निकायले आधिकारिक रुपमा पुष्टि गरेका छैनन्। परराष्ट्र मन्त्रालयले बीआरआईका सम्बन्धमा गृहकार्य भइरहेको मात्र जनाएको छ।चैतमा चीनका विदेशमन्त्री वाङले नेपालको भ्रमण गर्दा बीआरआईको कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने भनिएको थियो। तर नेपाली पक्षबाट अनुदान नलिने र ऋण लिन नसक्ने जानकारी दिएपछि उक्त सम्झौता अघि बढ्न सकेन। चिनियाँ पक्षले भने बीआरआईमार्फत नेपाललाई अनुदान दिँदा विश्वका अन्य मुलुकलाई पनि त्यही सुविधा दिनुपर्ने समस्या रहेको प्रतिक्रिया दिएका थिए।
साथै, प्रधानमन्त्री देउवा र चिनियाँ नेता लिउबीच २०७६ असोज २५ र २६ मा चीनका राष्ट्रपति तथा सीपीसीका महासचिव सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरूलाई कार्यान्वयन गर्ने सम्बन्धमा पनि कुराकानी भएको थियो। कुटनीतिज्ञ भट्टराईकाअनुसार उक्त अवसरमा प्रधानमन्त्री देउवा र चिनियाँ नेता लिउले दुई मुलुकबीच भएको सम्झौतालाई कार्यान्वयनमा लैजानेबारे प्रतिबद्धता जनाएका थिए। उक्त अवसरमा भएका २० वटा सम्झौताहरूमध्ये छेन्दुमा नेपालको महावाणिज्य दूतावास खोल्ने, सगरमाथाको उचाइ संयुक्त रुपमा नाप्ने विषयमा काम भएको छ। तर आपसी कानुनी सहायता, सीमा व्यवस्थापन प्रणालीलगायत विषयमा कार्यान्वयन हुन सकेको छैन। साथै, त्यसबेला रेल पूर्वाधार निर्माणमा गर्ने भनिएको सम्भाव्यता अध्ययन पनि ढिलो गतिमा अघि बढिरहेको छ।