सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न एआइआइएमएससँग डा.देउवाको आग्रह

  • प्रकाशित मिति : April 3, 2022
  • पहिलो किरण

२० चैत्र २०७८, नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभएको छ । हिजो सो इन्स्टिच्युटको भ्रमणका क्रममा डा देउवाले यस किसिमको ‘डेडिकेटेड’ अस्पताल नेपालमा पनि आवश्यक रहेकाले त्यसका लागि आवश्यक जनशक्ति तयार गर्न र पूर्वाधार निर्माणमा सहयोग गर्नेबारेमा आग्रह गर्नुभयो ।

इन्स्टिच्युटका विज्ञहरूसँगको अन्तक्र्रियामा डा देउवाले नेपालमा पनि एआइआइएमएसजस्ता संस्था स्थापना गरी तिनको संस्थागत विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राख्ने बताउनुभयो । सरकारी र गैरसरकारी निकायको निरन्तर प्रयास हुँदाहुँदै नेपालमा मातृ मृत्युदर र नवजात शिशुको मृत्युदर घटाउन सकिएको भए पनि अझै यो समस्या चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उहाँले मुलुकको सुदूरपश्चिम क्षेत्रमा यो समस्यामा अझै रहेको देखिएकाले त्यस क्षेत्रमा एआइआइएमएसको सेवा लैजान आवश्यक रहेको बताउनुभयो ।

डा देउवाको आग्रहलाई सहर्ष स्वीकार गर्दै छिट्टै यस सम्बन्धमा आवश्यक पहल सुरु गरिने एआइआइएमएसका निमित्त निर्देशक प्रा डा नीना खन्नाले बताउनुभयो । उहाँले नेपालकी प्रथम महिला तथा सुरक्षित मातृत्वका क्षेत्रमा लामो अनुभव सँगाल्नुभएकी डा देउवासहितको नेपाली विज्ञहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै नेपाल सरकारसँग समन्वय गरी यस क्षेत्रमा काम गर्न इच्छुक रहेको धारणा राख्नुभयो ।