शिर झुकाउनु परे पनि नेपालसँग सम्बन्ध बिगार्दैनौँ : भारतीय रक्षा मन्त्री सिंह

  • प्रकाशित मिति : December 16, 2021
  • पहिलो किरण

काठमाडौं । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपाल र भारतबीच सम्बन्ध बिगार्न नचाहेको बताउनु भएको छ ।

भारतको उत्तराखण्ड राज्यमा मङ्गलवार भएको एक कार्यक्रममा उहाँले केही तत्त्वहरूले दुई देश बीचको सम्बन्ध बिगार्न चाहेको आरोप लगाउनुभयो ।

उहाँले तेस्रो पक्ष को हो भन्नेबारे केही खुलाउनुभएको छैन । उहाँले नेपालसँग भारतको रोटी–बेटी तथा सांस्कृतिक सम्बन्ध रहेको दोहोर्याउनुभयो । साथै उहाँले भारतले नेपालसँगको सम्बन्ध कहिल्यै पनि बिगार्न नचाहेको बताउनुभयो ।

उहाँले भन्नुभएको छ,‘जेसुकै भए पनि हामीलाई शिर झुकाउनु किन नपरोस् तर नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौँ ।’

सिंहले सन् २०२० को मे महिनामा नेपाल, भारत र चीन बीचको त्रिदेशीय बिन्दु लिपुलेक हुँदै तिब्बत जोड्ने मानसरोवर सडकको उद्घाटन गर्नुभएको थियो ।

नेपालले आफ्नो दाबी गर्दै आएको लिपुलेक र लिम्पियाधुरा क्षेत्रबाट सडक निर्माण गरिएकाले भारतसमक्ष त्यसको कुटनीतिक रूपमै विरोध जनाएको थियो ।